कस्तो अचम्म ! सर्पदंशको उपचारको खोजीमा यी व्यक्तिले आफूलाई २०० वटा सर्पबाट डसाए

International अन्तराष्ट्रीय खबर मुख्य समाचार समाचार

एजेन्सी । संसारमा प्रत्येक पाँच मिनेटमा कोहि न कोही कतै न कतै व्यक्तिको सर्पले टोकेर मृत्यु हुन्छ भने चारजना व्यक्ति अस्थायी रुपमा अपाङ्ग हुन्छन । झन ब्ल्याक माम्बा नामक विषालु सर्पको दुई थोपा विषले पनि मानिसको ज्यान लिन सक्छ । तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन् । अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन् ।
उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन, त्यसको भिडिओ खिच्छन् र युट्यूबमा अपलोड गर्छन् । उनी कतिपय बेला आफूलाई विषालु जीवले डसेपछि कस्तो महसुस हुन्छ भन्ने कुरा टिम आफ्नो भिडिओमा व्याख्या गर्छन । एउटा त्यस्तै भिडिओमा, टिमले विषालु अफ्रिकी सर्प माम्बाले दुईपटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामरा अगाडि बोलेका छन् । “ब्ल्याक् माम्बाले डसेपछि तत्काल दुख्छ । यो हजारौं माहुरीले एकैपटक टोकेजस्तै हो। माहुरीको टोकाइमा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ ।“ त्यसपछि के भयो भन्ने पनि उनले बताएका छन् ।
“त्यसपछि सुन्निन थाल्यो । त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु । यो एकदमै पीडादायी छ ।” टिम फ्रिडाले आफ्नो शरीर सर्पको आक्रमण सहन सक्ने बनेको बताए । सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरू मध्ये एउटा उनको पनि हो । सामान्यतः नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ ।”
तर विश्वभरको फर्मस्यूटिकल उद्योगमा, एन्टी भेनम भनिने सर्पदंश लगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधीको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन् । एक अफ्रिकी केटाले ध्रुवीय क्षेत्रमा जीवन शुरू गर्न तय गरेको आठ वर्षे यात्रा । नयाँ खोप पत्ता लगाउने वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेलकम ट्रस्टका अनुसार “उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन् ।”
सामाजिक सञ्जालमा फलोअर्स बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन् । “म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन (म मानिसहरूको ज्यान बचाउन चाहन्छु र परिवर्तन ल्याउन चाहन्छु । मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ । त्यो जुवा खेले जस्तै थियो। त्यसले काम र्गयो,” उनले भने।
टिम फ्रिडाले आफूले करिब दर्जन पटक जति मृत्यु छलेको बताएका छन ।
सर्पका तीन हजार प्रजाति मध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ। फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन् । चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सय भन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो भन्दा बाहेक उनले ७ सय भन्दा बढी पटक आफ्नो शरिरमा विष प्रवेश गराएका छन्।

सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ। कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो । फ्रिडा भन्छन, “ब्ल्याक् माम्बा जस्तो सर्पको विष तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायु प्रणालीमा असर गर्छ । जसले गर्दा डायफ्रायाम भनिने छातिलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न, तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ विस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई असर गर्दैन त्यही भएर मृत्यु नहुनजेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ ।”
फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्पहरू राखेका छन् र तिनीहरूको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन् ।ब्ल्याक् माम्बा विश्वकै एउटा घातक सर्प हो (यो सर्पको डसाइले मानिसको ३० मिनेटमै ज्यान जानसक्छ) “म सँग अफ्रिकाको पानी गोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो ।”
पानी गोमनको विषमा न्यूरोटोक्सिन हुन्छ जसले स्नायु कोषलाई असर गर्छ । “अरू गोमन सर्पहरूमा साइटोटोक्सिन हुन्छ जसले र्याटल स्नेक प्रजातिको सर्प जस्तै कोषहरू मारिदिन्छ । गोमनले औंला वा हात नै सम्म पनि निकाल्न सक्छ ।” फ्रिडा विषको कम मात्रा लिदैँ शरिरमा प्रतिरोधी प्रणाली विकास गर्ने सिद्धान्त अनुसार काम गर्छन् तर उनको यो काम गर्ने तरिकाको धेरै आलोचना भएको छ ।
अहिले हामीसँग भएको उपचार विधिमा पनि यस्तै उपाय अवलम्वन गरिएको छ तर जनावरहरूको प्रयोग गरिन्छ ।
सर्पसँग मानिसहरू डराउने भए पनि कतिपय संस्कृतिमा यसलाई पूजा गरिन्छ । एन्टी भेनमको उत्पादन गर्ने पद्धतिमा १९ औं शताब्दी यता नै परिवर्तन भएको छैन । सुइमार्फत थोरै मात्रामा भेडा र घोडालाई विष दिइन्छ। र त्यसपछि एन्टीबडिज भनिने रोगहरूसँग लड्ने रगतमा उत्पादन हुने एक किसिमको प्रोटिनलाई ती दुवै जनावरबाट संकलन गरिन्छ।
“हामीसँग मलाई मार्न चाहने जीवहरू छन् तर म मर्न चाहन्नँ । त्यसैले म स्वयम् घोडा बनेको हुँ । हामी किन आफैँ आफ्नै रोगसँग लड्ने क्षमता बन्न सक्दौनौं?“ फ्रिडा प्रश्न गर्छन् । पहिला ट्रक चालक रहेका ५१ वर्षीय फ्रिडा कहिल्यै विश्वविद्यालय गएनन् । कुनै पनि विषालु जीवका कारण मर्न सकिन्छ भन्ने डरले उनलाई लगभग २० वर्षदेखि यस्तो अस्वभाविक काम गर्न प्रेरित गरिरहेको छ।
उनले सुरुमा माकुरा र बिच्छीलाई टोकाएर यस्तो प्रयोग सुरु गरे। त्यसपछि गोमन र कोपरहेड नामका विषालु सर्पलाई प्रयोग गरे । “मैले यो ग्रहमा भएका सबै किसिमका विषालु सर्पबाट आफूलाई टोकाएको छैन। जुनले छिट्टै ज्यान लिनसक्छ त्यसलाई मात्रै छानेको छु ।” सर्पले टोकेको घाउको थुप्रै चोट उनको जिउमा छ र उनी त्यसरी टोकाउँदा मृत्युको नजिकसम्म पुगेका छन् ।

तैपनि कुनै चिकित्सकको सुपरिवेक्षण बिना सर्पलाई टोकाएकामा उनी खुसी छन् । “करिब १२ पटक मलाई निको हुन निकै गाह्रो भयो। पहिलो वर्ष मैले अनुसन्धानका लागि दुईवटा गोमनलाई टोकाएपछि अस्पतालमै भर्ना हुनुपरेको थियो। तपाईँले सिकाइको त्यो चरण पार गर्नैपर्छ। विश्वमा यसबारे सिकाउने कुनै चिकित्सक वा विश्वविद्यालय छैन ।”
साभार बिबिसी नेपाली सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *